काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउ
काँकरभिट्टा, ३० जेठ — पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ। पूर्वी काँकरभिट्टा नाकासहित सबै सीमावर्ती क्षेत्रमा नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ भने अवैध प्रवेश रोक्न संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ।
सुरक्षा निकायका अनुसार खुला सीमाको दुरुपयोग गर्दै बंगलादेशी नागरिकहरूले गैरकानूनी रूपमा नेपाल प्रवेश गर्ने प्रयास जारी राखेको पाइएको छ। यसै क्रममा शनिबार दिउँसो करिब पौने १ बजे काँकरभिट्टा नाकाबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतको पश्चिम बंगाल रानीग्राम पञ्चायत अन्तर्गत पानीट्याँकी क्षेत्र हुँदै मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट नेपाल प्रवेश गर्न खोज्ने ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी बंगलादेशी राहदानीसहित गैरकानूनी रूपमा नेपाल प्रवेश गर्न खोजिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन्।
पक्राउ परेका इस्लामलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको थियो। थप अनुसन्धानका लागि उनलाई काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको कार्यालयले जनाएको छ।
