सम्पत्ति विवरण मागेपछि सरकारलाई ओलीको जवाफ- ‘आगो लगाएर पुगेन
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाउन वा कुनै पनि बयान दिन अस्वीकार गर्दै सरकारको यो कदमलाई ‘पूर्वाग्रह र प्रतिशोधको पोको’ को संज्ञा दिएका छन्।
बुधबार काठमाडौँमा आयोजित दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संवैधानिक र कानूनी निकायहरू क्रियाशील रहँदा-रहँदै नयाँ समिति बनाउनु विपक्षी दलका नेताहरूलाई फसाउने नियत भएको दाबी गरेका छन्।
उनले आफ्नो सम्पत्ति सबै जलाएको भन्दै अब सम्पती विवरणमा खरानी उठाएर लैजान सरकारलाई आग्रह गरेका छन्।
‘कसैको अचाक्ली सम्पती देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाइएका ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने हो भने, म सम्पत्ति विवरणको सट्टा खरानी नै भरिदिन्छु। फेरि आगो लगाएर पुगेन, अब सम्पती विवरण पनि चाहियो रे! खरानी छ, उठाएर लैजा सरकार। केको सम्पत्ति विवरण?,’ ओलीले भने।
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा बालकोटस्थित ओलीको घर जलाइएको थियो।
