कामु प्रधानन्यायाधीश मल्ल लक्षित लामिछानेको चुनौती – ‘मेरो गर्धन त्यहीं छ, हतियार चलाइदिनू’
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आफ्नो गर्धन सर्वोच्च अदालतमै रहेको भन्दै हतियार चलाउनू
भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल लक्षित टिप्पणी गरेका छन् ।
कानुन दिवसको कार्यक्रममा शनिबार कामु प्रधानन्यायाधीश मल्लले दिएको अभिव्यक्तिमा संकेत गर्दै सरकारको नेतृत्व गरिरहेको रास्वपाका सभापति लामिछानेले उक्त अभिव्यक्ति दिएका हुन् । ‘धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? म यहीं छु । मेरो गर्दन त्यहीं छ । हतियार चलाइदिन आग्रह गर्दछु,’ लामिछानेले भने, ‘अन्यायमा हामी पनि पर्यौं होला । चिच्चाई चिच्चाइ न्याय पाउँ भन्न मन थियो होला । तर अदालतप्रति आसा र भरोसा छ भनिरहेका छौं ।’ संसारभर ‘तिमीलाई म अदालतमा देखाइदिउँला’ भनेर पीडितले भन्ने गरेको भन्दै सम्मानित अदालतले यसमा टीकाटिप्पणी नगर्न उनले आग्रह गरे ।
ललितपुरमा आइतबार आयोजित रास्वपा सांसदहरुको प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भएका ६ जनामध्ये संविधानले दिएको अधिकारअन्तर्गत योग्य एक जनालाई प्रधानन्यायाधीशमा छानेको दाबी गरे । ‘अहिले धेरै आवाज न्यायालयको सुनिएको छ । सरकारले असंवैधानिक काम गर्यो । संविधान मिचेको सुनेका छौं,’ उनले भने, ‘संविधान अभ्यासमा गइसकेको अवस्थामा रास्वपा बनेको हो तर संविधानको भावनाअनुसार नै रास्वपा अघि बढ्छ ।’
संवैधानिक परिषद् र प्रधानन्यायाधीशको नियुक्तिलाई मूर्धन्यले पनि परम्पराभन्दा बाहिर गएको भनेको भन्दै लामिछानेले असंवैधानिक भएको भए ६/६ जना किन सिफारिस गरियो भनि प्रश्न गरे । उनले ६ जनाको साटो वरिष्ठतम् जो छ उसैलाई सोझै नियुक्त हुने भनिन्थ्यो होला नि ! भनी जवाफ दिए ।
‘६ जना न्यायाधीशहरुको सिफारिस रास्वपाको सरकारले गरेको थिएन । यसरी आएका नामबाट छानिएको हो । योग्यताहरुमध्येबाट छानिन्छ भनेर संविधानले भनेकाले त्यही गरेको हो,’ उनले भने, ‘परम्परा भत्काइयो भन्ने कुरा छ । त्यही परम्परामा जाने भएको भए किन अहिलेको सरकार आवश्यक हुन्थ्यो र ।’
भागबन्डामा आफूलाई विश्वास नभएको भन्दै उनले न्यायमूर्तिहरुको सूचीअनुसार एउटा छान्नु भनियो, त्यहीअनुसार छानिएको दाबी गरे ।
