आजै आउन सक्छ एसईई नतिजा, नभए भोलिसम्म सार्वजनिक गर्ने तयारी
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारीका लागि सोमबार बैठक बसिरहेको छ । प्राविधिक रूपमा कुनै समस्या नभेटिए नतिजा आजै सार्वजनिक हुन सक्ने बोर्ड स्रोतले जनाएको छ । यदि त्रुटि सच्याउन थप समय लागे मंगलबारसम्म नतिजा प्रकाशित गरिने तयारी गरिएको छ ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बैठकमा नतिजा प्रकाशनको अन्तिम तयारीबारे छलफल भइरहेको छ । शिक्षा सचिव चुडामणि पौडेलसहित बोर्डका पदाधिकारी सानोठिमीस्थित कार्यालय पुगेका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेललाई पनि सम्भव भएसम्म आजै, नभए भोलिसम्म नतिजा सार्वजनिक हुने जानकारी दिइएको मन्त्रीको सचिवालयले जनाएको छ । सबै प्राविधिक प्रक्रिया पूरा भएपछि बोर्ड बैठकले औपचारिक रूपमा नतिजा प्रकाशन गर्ने निर्णय लिनेछ ।
