डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता
काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रा बरामद गरेको छ । सोमबार साँझ गरिएको विशेष जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको करिब डेढ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन फेला परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठक हुन् । उनको साथबाट २४ क्यारेट ९९९.९ प्योरिटीको ५ सय ७० ग्राम सुन बरामद गरिएको छ । उक्त सुनको बजार मूल्य करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
त्यसैगरी, प्रहरीले उनको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारतीय रुपैयाँ समेत फेला पारेको जनाएको छ । बरामद अमेरिकी डलरको नेपाली मूल्य मात्रै करिब २० लाख ६४ हजार रुपैयाँ बराबर पर्न आउने अनुमान गरिएको छ ।
सुरक्षा जाँचका क्रममा पाठकसँग सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कार्ड, सिमकार्ड, मोबाइल फोन तथा चेक समेत फेला परेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाका अनुसार बरामद सुन, विदेशी मुद्रा तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
