संघीय सरकारले अनुमति दिए विराटनगरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन तयार छौँ : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले अनुमति दिए विराटनगरमा निर्माणाधीन बैजनाथपुर रंगशाला २ वर्षभित्रै निर्माण सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

आइतबार विराटनगरमा नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा उद्घाटन गर्दै कार्कीले क्रिकेटको बढ्दो लोकप्रियताका बेला विराटनगर- १९ मा रहेको १७ बिघा जग्गामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन आवश्यक भएको बताए । खेलकुदको माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने भएकाले वैजनाथपुरको विकल्पमा विराट चोकमा रंगशाला बनाउन पहल भइरहेको उनको भनाइ छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट विकासका लागि तीनै तहको सरकारको पहल र प्रयास आवश्यक रहेको बताए । क्रिकेट खर्चिलो खेल भएकाले पूर्वाधार विकासमा चुनौती रहेको उनको भनाइ छ ।
साधारण सभा २ दिनसम्म चल्नेछ ।
